काठमाडौं – दशैं भन्नेबित्तिकै टीका, जमरा, मिठा परिकार र पिङको सम्झना आउँछ। तर के तपाईंलाई थाहा छ, दशैंमा पिङ खेल्ने चलन किन छ?
दशैंसँग यस्ता केहि विशेषता जोडिएका छन् । जस्तो कि, पिङ खेल्नु ।दशैंको विशेष खेल पिङ नै हो । खासगरी लिङ्गे पिङ । पिङ खेलिरहँदा रोमाञ्चित त हुने नै भइयो, स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले नै भनिएको होला, दशैंमा एक पटक भूँई छाड्नुपर्छ ।
जब दशैं आउँछ, गाउँघरतिर लिङ्गे पिङ बनाउ सुरु गरिहालिन्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दशैंको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।
पिङ खेल्नुको सम्बन्ध हाम्रो शारीरिक स्वास्थ्यसँग पनि जोडिएको छ । दशैंमा पिङ खेल्दा केही शारीरिक लाभ मिल्छ ।दशैंलाई हामी मिठो मसिनो खाने चाड भन्छौं । खासगरी मासुजन्य परिकार खाने चाड । यतिबेला घरमा मिठोमसिना खाइन्छ । पाहुना लाग्दा मिठोमसिनो खाइन्छ । अनेकथरी खाइन्छ । आफन्तको मन राख्नका लागि पनि खानैपर्छ । यसरी खानाको मात्रा बढ्दा त्यसले स्वभाविक रुपमा हामो पाचन यन्त्रलाई असर गर्छ । मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ ।
यस्तो अवस्थामा लिङ्गे पिङ खेल्नुको खास फाइदा छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ ।यसरी लिङ्गे पिङको सम्बन्ध पेटको स्वास्थ्यसँग पनि जोडिएको छ । त्यसैले दशैंमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ ।


