काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गर्दै आज राति देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ।
बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय प्रणाली (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको र यसकै प्रभावले नेपालमा मनसुनी तथा पश्चिमी वायुको असर बढेको महाशाखाको विश्लेषण छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै मधेस प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा तीव्र हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
वर्षा र हावाहुरीका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम उच्च रहने भएकाले जनजीवन, यातायात, कृषि, पर्यटन तथा उद्धार कार्य प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन र अद्यावधिक सूचनाहरू नियमित लिन आग्रह गरेको छ।


