आजदेखि पर्पल रंग मिसिएको १००० दरका नयाँ नोट बजारमा, गभर्नर पौडेलको हस्ताक्षर

एटुजेड समाचार

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज २०२५) प्रचलनमा ल्याएको छ । नयाँ नोट साविककै आकारमा रहे पनि यसको रङ संयोजन परिमार्जन गरी पर्पल (बैजनी) रङको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार यो नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।

नयाँ नोटको मध्य भागमा नेपाल राष्ट्र बैंकको परम्परागत प्रतिज्ञामूलक भुक्तानी वाक्यांश उल्लेख गरिएको छ । नोटको बायाँतर्फ सर्वोच्च शिखर सगरमाथाको मनमोहक चित्र अंकित छ भने दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँस र त्यसको मुनि अङ्क ‘१०००’ प्रस्टिने गरी पानीछाप (वाटरमार्क) राखिएको छ । नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा नीलो रङको सी–थ्रु रजिस्टरमा ‘1000’ को पूर्ण आकृति स्पष्ट रूपमा देखिन्छ ।नोटको सुरक्षा व्यवस्थालाई थप कडा बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

सगरमाथाको दायाँपट्टि रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र कुँदिएको छ, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा चम्किलो हरियो रङमा परिवर्तन हुन्छ । त्यसैगरी, नोटमा ३.५ मिलिमिटर चौडाइ भएको विशेष चलायमान सुरक्षण धागो प्रयोग गरिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिनुका साथै त्यसमा ‘NRB’ र ‘1000’ अंकित गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु