अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि चितवनका सातवटै स्थानीय तहले भोलि (शुक्रबार) विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। जल तथा मौसम विज्ञान विभागले ८ गतेदेखि तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन अनुरोध गरेपछि चितवनका सबै स्थानीय तहले विद्यालयमा बिदा दिएको हो ।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले आज सूचना जारी गर्दै बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै भोलि एक दिनका लागि विद्यालय बन्द गर्ने जनाएका छन् ।
चितवनमा आज बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षा नरोकिएपछि बाढी तथा पहिरोको जोखिमसमेत बढेको छ। यही जोखिमलाई मध्यनजर गर्दै चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमनमा समेत रोक लगाउने निर्णय गरेको छ।


