काठमाडौँ – काठमाडौँ उपत्यकामा अहिले खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको छ । नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्तिबिचको सन्तुलन नमिल्दा बजारमा हाहाकार मच्चिएको हो । हाल उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब २५ हजार सिलिन्डरमा सीमित छ ।
भदौ १४ गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा सडकको ठुलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग (नागढुंगा–मुग्लिन सडक) ८ दिनदेखि अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै ग्यास मात्र होइन, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ ।
आपूर्तिमा ४० प्रतिशत गिरावट
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग ४० हजार सिलिन्डर भए पनि हाल करिब दैनिक १५ हजार सिलिन्डर अभाव छ । यस्तै ग्यास बिक्रेता र होटल व्यवसायीहरूले आँफैँ तराइका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन् ।


