एटुजेड समाचारको तीज विशेष आर्टिकल लेखन प्रतियोगिता स्थगित

एटुजेड समाचार

चितवन – देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एटुजेड समाचार डटकमले महिला पत्रकार तथा सञ्चारकर्मीबीच आयोजना गर्दै आएको तीज विशेष ‘आर्टिकल लेखन प्रतियोगिता’ यस वर्ष स्थगित गरेको छ।

केटीबी एडभरटाइजिङ एजेन्सी एन्ड मिडिया सर्भिस प्रा.लि.द्वारा सञ्चालित एटुजेड समाचार डटकमले विगत तीन वर्षदेखि निरन्तर रूपमा उक्त प्रतियोगिता आयोजना गर्दै आएको थियो। देशमा उत्पन्न विषम परिस्थितिका कारण ठूलो मानवीय तथा जनधनको क्षति भएकाले यस वर्ष प्रतियोगिता स्थगित गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोर चन्द्र सापकोटाले बताए ।

मध्य नेपालको चितवन तथा आसपासका जिल्लालाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुँदै आएको एटुजेड समाचार डटकमले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा कलम चलाउने महिला पत्रकार तथा सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले तीज विशेष आर्टिकल लेखन प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

हालसम्म प्रतियोगिताका तीन संस्करण सम्पन्न भइसकेका छन्। यस वर्ष चौथो संस्करण आयोजना गर्ने तयारी भइरहेका बेला देशमा देखिएको विपद्को अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।

आयोजकले विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने अवस्थालाई ध्यानमा राखेर प्रतियोगिता स्थगित गरिएको जनाएको छ।

यसैबीच, तीज विशेष आर्टिकल लेखन प्रतियोगिता सफल बनाउन सहयोग तथा सहकार्यका लागि तत्पर रहनुभएका सम्पूर्ण विज्ञापनदाता, शुभेच्छुक तथा आर्टिकल लेखनमा सहभागी हुन तयारी अवस्थामा रहनुभएका सम्पूर्ण प्रतियोगीहरूलाई एटुजेड समाचार डटकमले विशेष धन्यवाद व्यक्त गरेको छ।

आयोजकले आगामी बर्षमा परिस्थिति अनुकूल भएपछि प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु