भोटेकोशी बाढी : जुम्लाका २० जना सम्पर्कमा, ५६ अझै बेपत्ता

एटुजेड समाचार

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका २० जना सम्पर्कमा आएका छन्। रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि पातारासीका ७६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएपछि खोजी कार्य गर्दा अहिलेसम्म २० जना सकुशल रहेको जानकारीसहित सम्पर्कमा आएका गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।

रसुवामा कामका लागि पुगेका पालिकाभित्रका सबै वडाका स्थानीयको यकिन तथ्याङ्क सङ्कलन गर्दा सबैभन्दा पातारासीको वडा नं ४, ५, ६ का स्थानीय रहेका भन्दै ५६ जना अझै सम्पर्कविहीन रहेका उनले बताए। ‘अहिलेसम्म गाउँपालिकाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढी आएपछि स्थानीयसँग सम्पर्क हुन सकेको छैन। अधिकांश जलविद्युत् आयोजनामा कार्यरत थिए’, उनले भने।

सम्पर्कविहीन भएका स्थानीयवासी र हालसम्म सम्पर्कमा आएका स्थानीयको नामावली र ठेगान सूचनामार्फत सार्वजनिक गरिएको गाउँपालिकाका अध्यक्ष बोहोराले जानकारी दिए। जिल्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिका स्थानीयसमेत उक्त बाढीमा परेका सूचना प्राप्त भएको उनको भनाइ छ।

जिल्लाबाट सम्पर्कविहीन भएका नागरिकको यकिन तथ्याङ्क सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी मीनबहादुर रावलले बताए। सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु