नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

एटुजेड समाचार

चितवन – नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो ।

संघका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले रु. १० लाख सहयोग गरेको बताउनुभयो । बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “हामी नेपालको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं ।”

संघले भूकम्प लगायतका प्राकृतिक विपत्तीहरुमा सहयोग गर्दै आएको चर्चा गर्दै अध्यक्ष पोखरेलले व्यवसायसँग राष्ट्रका लागि परेको विपत्तीमा थोरै भएपनि संघले सहयोग गरेको बताउनुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु