चितवन — सरसफाई अभियन्ता अपिल घिमिरेले ‘प्रकृतिवादी घोषणापत्र–२०८३’ सार्वजनिक गर्दै प्रकृतिलाई मानवको सम्पत्ति नभई सम्पूर्ण जीवजगतको साझा घरका रूपमा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्दै स्व घोषणा गरेका हुन् ।
घोषणापत्रमा मानव, नदी, वन, वन्यजन्तु, माटो, हावा र जल एकअर्कासँग अन्तरसम्बन्धित जीवनका आधार भएकाले यीमध्ये कुनै एकको विनाशले अन्ततः सम्पूर्ण जीवन प्रणालीमा असर पर्ने उल्लेख गरिएको छ।
घिमिरेले मानव प्रकृतिको मालिक नभई प्रकृतिको एक सदस्य मात्र भएको उल्लेख गर्दै मानव अधिकारसँगै नदी, वन, वन्यजन्तु तथा पृथ्वीको अधिकारको पनि सम्मान हुनुपर्ने बताएका छन्। उनले प्रकृतिलाई नष्ट नगरी मानव जीवनलाई समृद्ध बनाउने विकास मोडल आवश्यक रहेको धारणा राखेका छन्।
घोषणापत्रमा नदी, वन, ताल, सिमसार तथा प्राकृतिक सम्पदाको संरक्षण, वन्यजन्तु र सबै जीवित प्राणीको बाँच्ने अधिकारको सम्मान, प्लास्टिक तथा अन्य प्रदूषणविरुद्ध अभियान सञ्चालन, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको विरोध, वातावरणीय न्यायको प्रवर्द्धन तथा भावी पुस्ताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखिएको छ। साथै वर, पिपल, समी, चौतारा, पँधेरो र कुवाजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिइएको छ।
घिमिरेले प्रकृतिवादलाई कुनै राजनीतिक नारा वा सीमित दर्शन नभई जीवन जिउने नैतिक आधारका रूपमा व्याख्या गर्दै नदी, वन, वन्यजन्तु र पृथ्वी सुरक्षित नभएसम्म मानवको समृद्धि पनि पूर्ण हुन नसक्ने बताएका छन्।
उनले सबै नागरिकलाई प्रकृतिको उपभोक्ता मात्र नभई संरक्षक बन्न आह्वान गर्दै प्रकृतिको रक्षा गर्नु नै मानव सभ्यताको भविष्यको रक्षा गर्नु भएको बताएका छन्।
घोषणापत्रको अन्त्यमा उनले आफ्नो मूल मन्त्र “मानव प्रकृतिभन्दा ठूलो होइन; मानव प्रकृतिको एक हिस्सा मात्र हो। प्रकृति बचे भविष्य बच्छ।” रहेको उल्लेख गरेका छन्।


