काठमाडौं – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्ग तथा मुख्य सडकखण्डहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बाढी-पहिरोको उच्च जोखिमका कारण कतिपय सडक पूर्ण रूपमा ठप्प भएका छन् भने केही राजमार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा कडा प्रतिबन्ध लगाइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाइएको छ।
त्यसैगरी कान्तिलोकपथमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लागू गरिएको छ। वर्षाका कारण इलामस्थित मेची राजमार्गको सडकखण्ड हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको छ।
उता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेर सडक ठप्प भएको छ। दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गर्दा लामासाँघु-रामेछाप सडकखण्ड अवरुद्ध बनेको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीको कटानका कारण पासाङ ल्हामु सडकखण्ड तथा गोरखाको धार्चे गाउँपालिका-३ अन्डरडाँडामा पहिरो जाँदा लार्के-बेनीघाट कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षायाममा बाढी, पहिरो र सडक कटानको खतरा उच्च रहने भएकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको अद्यावधिक अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ।




