भरतपुर – चितवन प्रहरीले क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) संकलन तथा कारोबार गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा डेरा गरी बस्ने २९ वर्षीय पप्पु कुमार यादवलाई पक्राउ गरिएको हो । उनी साबिक धनुषा संग्रामपुर–७ घर भई हाल हंसपुर नगरपालिका–४ स्थायी ठेगाना भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत Binance र Bybit नामक एप्लिकेशन प्रयोग गरी अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) संकलन तथा कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो ।
खानतलासीका क्रममा विभिन्न कम्पनीका १७ थान मोबाइल फोन, केही किप्याड मोबाइल तथा सम्बन्धित कारोबारसँग जोडिएका कागजात र सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुषण यादवले जानकारी दिए ।
नेपालमा क्रिप्टो करेन्सी कारोबार गैरकानुनी मानिन्छ । पछिल्लो समय नेपालका विभिन्न जिल्लामा यस्ता कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दो छ ।



