“चितवनको बरण्डाभार वन : पर्यापर्यटनको उत्कृष्ट गन्तव्य बन्दै”

चितवन – चितवनको महत्वपूर्ण वन क्षेत्र बरण्डाभार जङ्गल पछिल्लो समय संरक्षणसँगै पर्यापर्यटनको नयाँ सम्भावना बोकेको गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। टिकौली जङ्गल वरिपरिका क्षेत्रलाई समेटेर बनेको यो वन चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रलाई जोड्ने जैविक करिडोरका रूपमा परिचित छ।

लामो समयदेखि वन्यजन्तुको ओहोरदोहोर हुने प्रमुख मार्गका रूपमा चिनिएको यस वनले महाभारत क्षेत्र र तराई क्षेत्रलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सरकारले २०६८ साल फागुन १५ गते राजपत्रमा सूचना प्रकाशित गर्दै यसलाई संरक्षित वन घोषणा गरेको थियो। करिब १० हजार ३ सय २ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा १७ सामुदायिक वन, ३७ कबुलियत वन र ५ धार्मिक वन रहेका छन् भने ३४ वटा साना–ठूला तालतलैया पनि छन्।

वनको करिब ४ प्रतिशत भाग घाँसे मैदानले ढाकिएको छ। करिब १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइ रहेको यस वन क्षेत्र भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिकाइच्छाकामना गाउँपालिका सम्म फैलिएको छ। यहाँ बाघ, गैँडा लगायतका वन्यजन्तु तथा दुर्लभ चराचुरुङ्गीहरूको वासस्थान रहेको छ।

विगतमा वन विनाश, अवैध कटानी, बस्ती विस्तार तथा मानव–वन्यजन्तु द्वन्द्वका कारण संकटमा परेको यो वन अहिले भने स्थानीय समुदाय र संरक्षणकर्मीहरूको सक्रियतामा सुधार हुँदै गएको छ। वनको संरक्षणसँगै यसको दीगो उपयोगमा ध्यान दिँदै पर्यापर्यटन प्रवर्द्धनका योजना अघि सारिएका छन्।

डिभिजन वन कार्यालय चितवनले यस क्षेत्रमा जिप सफारी, हाइकिङ तथा सन्ध्याकालीन सफारी सञ्चालनको सम्भावनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। डिभिजन वन अधिकृत विष्णु आचार्यका अनुसार चितवनको पर्यटन सौराहा र कसरा केन्द्रित हुँदै आएको अवस्थामा सामुदायिक वन क्षेत्रलाई पनि आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

Forbes

No description available.

वन्यजन्तुको व्यवस्थित बासस्थानका लागि घाँसे मैदान र तालतलैयाको व्यवस्थापनसँगै नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको छ। यसै क्रममा १८ वटा कृष्णसार ल्याउने तयारी भइरहेको छ, जसले पर्यटकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ। साथै नाइट स्टे र होमस्टे सञ्चालनको तयारीसमेत भइरहेको छ।

बरण्डाभार वनलाई संरक्षण क्षेत्र मात्रै नभई पर्यापर्यटनमा जोड्ने उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने छ । जस्का कारण सौरामा आएका २० प्रतिशत पर्यटक भित्र्याउन सकिन्छ उनले भने ।

यस्तै स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरूले पनि पर्यटन प्रवर्द्धनमा चासो देखाएका छन्। चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङका अनुसार अब वनबाट काठ–दाउरा मात्रै होइन, पर्यटनमार्फत आम्दानी बढाउने लक्ष्य राखिएको छ। वन कार्यालयसँगको सहकार्यमा हाइकिङ मार्गको अध्ययनसमेत गरिएको छ।

त्यसैगरी पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्ताङले जिप सफारीको सफलतापछि हाइकिङ र सन्ध्याकालीन सफारी विस्तारको योजना रहेको बताए। राजमार्ग र सौराहा नजिकै रहेको यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु