रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवन उद्योग संघमा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। यसअघि असार ७, ८ र ९ गते पूर्वी चितवनको रत्ननगर–टाँडीमा आयोजना गर्ने तयारी गरिएको महाधिवेशन अब भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्र (उद्योग संघ) मा सञ्चालन हुने भएको छ।

रास्वपा चितवनका पूर्व सभापति कृष्ण भुसालका अनुसार महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवन औद्योगिक प्रदर्शनी केन्द्रको हलमा सञ्चालन गरिनेछ। महाधिवेशनको बन्द सत्रमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने तथा उद्घाटन सत्रमा १५ देखि २० हजारसम्मको उपस्थिति रहने अनुमान गरिएको छ।

महाधिवेशनमा पार्टीका शीर्ष नेताहरू, सभापति रवि लामिछाने लगायत केन्द्रीय नेतृत्वको उपस्थिति रहने जनाइएको छ। देशभरका ७७ जिल्लाबाट आउने प्रतिनिधि तथा नेताहरूको बसोबासका लागि सौराहा, भरतपुर, मेघौली, टाँडी र गैँडाकोटका विभिन्न होटलहरूमा व्यवस्थापन गरिने तयारी गरिएको छ।

कार्यक्रममा अपेक्षाभन्दा बढी भीड भएमा प्रत्यक्ष प्रसारणमार्फत दर्शकहरूलाई कार्यक्रम अवलोकन गराउन गेस्ट हाउस चौर समेत प्रयोग गरिने भुसालले जानकारी दिए। महाधिवेशनका लागि उद्योग संघको मुख्य हल, बाहिरी परिसर तथा गेस्ट हाउस चौर प्रयोग गरिने तयारी गरिएको छ।

यसअघि टाँडीस्थित होटल स्टार नजिकैको खाली जग्गामा बाँसको डोम निर्माण गरेर महाधिवेशन गर्ने योजना बनाइएको थियो। तर स्थान साँघुरो हुनु, बर्खायाममा हावाहुरीका कारण व्यवस्थापनमा कठिनाइ आउन सक्ने, अत्यधिक गर्मी हुने तथा त्रिपाल उड्ने जोखिम लगायतका कारण स्थल परिवर्तन गरिएको जनाइएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु