चितवन – सरकारद्वारा सुनचाँदी व्यवसायमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध चितवनका सुनचाँदी व्यवसायीहरू लगातार आन्दोलित छन्। नेपाल सुनचाँदी व्यवसाय महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्देशनात्मक परिपत्रअनुसार असार १३ गतेदेखि चितवनका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द रहेका छन्।
कर तथा नीतिगत असन्तुष्टिका विरुद्ध जारी आन्दोलनलाई निरन्तर साथ दिँदै आएका व्यवसायीहरूलाई नेपाल सुनचाँदी व्यवसाय संघ चितवनले विशेष धन्यवाद व्यक्त गरेको छ। संघका अध्यक्ष हेमबहादुर बिश्वकर्मा का अनुसार, संयुक्त महासंघहरूको हालै सम्पन्न बैठकबाट आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गर्दै अनिश्चितकालीन बन्दलाई निरन्तरता दिने घोषणा गरिएको हो।



उक्त निर्णयअनुसार, संघको आयोजनामा आज बिहान १०:३० बजे नारायणगढको शहिदचोकबाट मोटरसाइकल र्याली निकालिएको थियो। र्याली शहिदचोकबाट सुरु भई चौविसकोटी, गीतानगर, पार्वतिपुर, कृष्णचोक, अमृतचोक, बुद्धनगर, तेलौली, चनौली, शारदानगर टाउन, रामपुर, मङ्गलपुर हुँदै पुलचोकसम्म पुगेको थियो।
र्यालीका क्रममा विभिन्न स्थानमा कोणसभा गरी सरकारका निर्णयप्रति आक्रोश पोखिएको थियो। वरिष्ठ उपाध्यक्ष उत्सब खाती बि.क का अनुसार, व्यवसायीहरूले सरकारसँग तत्काल संवाद गरी कर खारेज गर्न माग गरेका छन्। संघले आन्दोलनका कार्यक्रमहरू क्रमशः थप सशक्त बनाइने स्पष्ट पारेको छ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान केन्द्रिय सदस्य चित्रबहादुर खाती, निर्वतमान अध्यक्ष टेकबहादुर विश्वकर्मा, टुलुक विश्वकर्मा, ऋतु सेन्चुरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव गोपाल थापा बि.कले गर्नुभएको थियो।


