चितवन – आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । चितवनको भरतपुर–१० मा रहेको पुष्पाञ्जली हस्पिटलले विश्व थाइराइड दिवसको अवसरमा आइतबार अस्पताल परिसरमा थाइराइड सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
यस वर्ष विश्व थाइराइड दिवसको नारा ‘थाइराइडको रोकथाम र शीघ्र पहिचान’ रहेको जानकारी दिँदै अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले भने, ‘घाँटीमा रहने थाइराइड ग्रन्थिले निकाल्ने हर्मोनमा गडबडी भएपछि त्यसलाई सन्तुलनमा राख्न औषधी सेवन गर्नु पर्छ । औषधी जीवनभर खानु पर्दैन, हर्मोन सन्तुलनमा आएपछि विज्ञ चिकित्सकको सल्लाहमा औषधी छाड्न सकिन्छ । आफै जान्ने भएर औषधी छाड्नचाहिँ हुँदैन ।’

थाइराइडको औषधी सेवन गरिरहेका बिरामीले चार महिनाको अन्तरालमा स्वास्थ्य जाँच गरिरहनु पर्ने डा. अधिकारीको भनाइ छ । पुरुषको तुलनामा महिलाहरुमा थाइराइड देखा पर्नुको कारण गर्भवती अवस्थामा बढेको शरीरको तौल प्रसूति भएको ६ महिनाभित्र पुरानै अवस्थामा फर्कन नसक्नु एउटा कारण भएको डा. अधिकारीले बताए । ‘तौल व्यवस्थापन धेरै महत्वपूर्ण कुरा हो’ उनले भने ।
थाइराइडको औषधी नियमित सेवन गरिरहेका शिक्षक प्रेम रिमालले थाइराइडमा गडबडी देखिँदैमा आत्तिहाल्न नहुने बताए । उनले औषधी सेवन गरेपछि आफ्नो काम नियमितरुपमा पहिले जस्तै गर्न सकिने अनुभव सुनाए । बिना कारण चिटचिट पसिना आउनु थाइराइडको एउटा लक्षण भएको उनको भनाइ थियो ।

पुष्पाञ्जलि अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा. कुमार पौडेलले मानिसको मस्तिष्कको विकासमा थाइराइडको प्रमुख भूमिका रहने बताए । ‘बच्चा आमाको गर्भमा रहँदा नै थाइराइड ग्रन्थिले निकाल्ने थाइरोक्सिन हर्मोनले मस्तिष्कको विकासमा भूमिका खेल्छ’ उनले भने, ‘त्यसैले गर्भवतीहरुको थाइराइड परीक्षण महत्वपूर्ण हुन्छ ।’ थाइराइडको कारणले टाउको दुख्ने र ढाड दुख्ने समस्या देखा पर्ने उनको भनाइ थियो ।



