बेपत्ता व्यक्तिका परिवारलाई मृतकसरह राहत दिन ५० करोड १ लाख रुपैयाँ निकासा

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउन ५० करोड १ लाख रुपैयाँ निकासा गरेको छ ।

प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएको हो । रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, डडेल्धुरा, जुम्ला, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र कञ्चनपुर जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको मागका आधारमा रकम निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

अन्य जिल्लाका विपद् व्यवस्थापन कोषमा समेत सम्बन्धित जिल्लाको मागअनुसार रकम पठाउने तयारी भइरहेको छ ।
यसअघि रसुवा–भोटेकोशी बाढी, गोरखा–बुढीगण्डकी बाढी र कालीगण्डकी बाढीबाट प्रभावित भई विपद् संकटग्रस्त क्षेत्र घोषित ४१ स्थानीय तहका लागि २४ करोड ५० लाख रुपैयाँ निकासा भइसकेको छ ।

त्यस्तै, रसुवा, नुवाकोट र धादिङका १२ स्थानीय तहका विपद् प्रभावित घरपरिवारलाई विभिन्न १० विकास साझेदार संघसंस्थाले बहुउद्देश्यीय नगद सहायतास्वरूप २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ वितरण गरिसकेका छन् ।

बेपत्ता भएका व्यक्तिका परिवारलाई समेत मृतकसरह राहत उपलब्ध गराउने व्यवस्थाले विपद्बाट प्रभावित परिवारलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु