चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म दैनिक पाँच घण्टा उक्त सडकखण्ड बन्द रहने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यसअघि केही समयदेखि कार्यसूचारु भई स्थगित भएको नारायणगढ–मुग्लिन सडक आयोजनाअन्तर्गत तुइनखोला खण्डमा पहिरो रोकथामको कामलाई अगाडि बढाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
सूचनाअनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म (दैनिक पाँच घण्टा) नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ ।
तर, काठमाडौंबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा खण्डमा चल्ने सवारीसाधनको आवागमन भने यथावत् सञ्चालन हुने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई समयअनुसार यात्रा योजना बनाउन र सडक बन्द हुने अवधिलाई ध्यानमा राखेर यात्रा गर्न आग्रह गरेको छ ।


