देवचुली – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको देवचुली नगरपालिका–२, दुम्कौलीमा रहेको शाश्वतधाम पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सफल भएको छ । शाश्वतधाममा दिनहुँ पर्यटक तथा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
शाश्वतधामका सहायक महाप्रबन्धक अशोक घर्ती क्षेत्रीले शाश्वतधाममा दिनहुँ २ हजार जनाभन्दा बढी धार्मिक पर्यटक आउने गरेको बताए । ‘शनिबारमात्रै ३ हजार जनाभन्दा बढी पर्यटकहरुले शाश्वतधामको भ्रमण गरेका छन्’ सहायक महाप्रबन्धक क्षेत्रीले भने, ‘शाश्वतधामको महत्व बुझ्न र अवलोकन गर्न नेपाल, भारतसहित विभिन्न देशका पर्यटकहरु आउने गरेका छन् ।’
सरकारले ‘उत्कृष्ट पर्यटकीय गन्तव्य’ को रूपमा शाश्वतधामलाई पुरस्कृत गरिसकेको छ । खजुराहो शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर शाश्वतधामको प्रमुख आकर्षण हो । मन्दिर अगाडि रहेको पानीको फोहोराले मन्दिरको सुन्दरता अझ बढाएको छ । फोहोरासँग राखिएका रङ्गीन बत्तीहरुको प्रकाशले रातको समयमा शिव मन्दिरलाई मनमोहक बनाउँछ ।
शाश्वतधाममा बुद्ध धर्मको इतिहास झल्काउने संग्रहालय, हिन्दु धार्मिक संग्रहालय, साँस्कृतिक संग्रहालय, गुरुकुल, सात्विक रेस्टुराँ, गौशाला, दशद्वारलगायत दर्जनभन्दा बढी क्षेत्रको अवलोकन गर्न सकिन्छ । यहाँको गौशालामा नौमुठे गाई पालिएको छ ।
धामभित्र रहेको वैदिक कर्मकाण्ड गुरुकुलमा ४० जना विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीहरुलाई माध्यमिक तहसम्मको शिक्षा प्रदान गरिँदै आइएको र माध्यमिक शिक्षापछि बनारस पठाउने गरिएको धामका सहायक महाप्रबन्धक क्षेत्रीले बताए । शाश्वतधाममा आउने पर्यटकले चिनारीको रुपमा धार्मिक वस्तुहरु खरिद गरेर लैजाने गरेको उनी बताँउछन् ।
शाश्वतधाम बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहन्छ । मन्दिरभित्र निःशुल्क प्रवेश गर्न पाइन्छ । संग्रहालयभित्र प्रवेश गर्न १ सय ५० रुपैयाँको टिकट काट्नु पर्छ । विद्यार्थीहरुको लागि भने सहुलियत टिकट ६० रुपैयाँमा उपलब्ध छ । शाश्वतधाम आउने पर्यटकहरुलाई मनोरञ्जनका लागि यहाँ ऐना घर, भ्युटावर रहेको छ ।