चितवन – नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कालोसूचीमा परेका ग्राहकबाट रु १ करोड ५ लाख ४६ हजार बक्यौता उठाउन बाँकी रहेको कार्यलय प्रशासन प्रमुख नन्दराम बिष्टले बताए ।
‘६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो’ उनले भने, ‘प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरिएको छ । सुरुवातमा विद्युत महसुल वक्यौता धेरै भएका ग्राहकको लाइन काटिन्छ ।’
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई सय ६७ जना ग्राहकलाई कालोसूचीमा राखेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ७३ लाख ३ हजार ३ सय बक्यौता उठाउन बाँकी रहेको थियो । भरतपुर वितरण केन्द्रमा बिहीबारसम्म कुल ७१ हजार ७ सय ६८ जना ग्राहक रहेका छन् ।
विद्युत महसुल संकलन विनियमावली २०७८ मा मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको बिष्टले बताए ।
यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने गरिएको बिष्टले बताए ।
विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको जानकारी दिँदै बिष्टले भने, ‘कालोसूचीमा राखिएका ग्राहकहरूले आफ्नो नाम कालोसूचीबाट हटाऊन् । अरुले पनि समयमै महसुल तिरी सजक र जिम्मेवार ग्राहक बनून् ।’