चितवन – भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा खानेपानीका उपभोक्ता बढेसँगै बोर्डको आम्दानी पनि बढेको छ ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्ष २०८०÷८१ मा १७ करोड ७० लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा बोर्डको वार्षिक आम्दानी १५ करोड ८२ लाख ९३ हजार रुपैयाँ थियो ।
भरतपुर महानगरपालिकाभित्र ६० प्रतिशत जनसंख्यामा पानीको पहुँच पुगेको बोर्डका कार्यलय प्रमुख सञ्जय बरालले बताए । उनका अनुसार भरतपुरभित्र खानेपानी प्रयोग गर्ने घरधुरी संख्या ४१ हजार पुगेको छ । योसँगै बोर्डअन्तर्गत वितरण हुने खानेपानी पिउने जनसंख्या २ लाख ३६ हजार पुगेको छ ।
भरतपुर महानगरमा अहिले दैनिक ३ करोड ४८ लाख लिटर पानी उत्पादन भइरहेको छ । जसमध्ये २ करोड ४६ लाख लिटर पानी खपत हुने गर्दछ । बोर्डअन्तर्गत बर्सेनि ३ हजारभन्दा बढी ग्राहक थपिएका छन् ।
बोर्डअन्तर्गत २७ वटा स्टेसनमार्फत् ४६ वटा डिप वोरिङबाट तानिएको पानी वितरण हुँदै आएको कार्यालय प्रमुख बरालले बताए । उनले भने, ‘भरतपुर खानेपानी व्यवस्थापन बोर्ड भरतपुर महानगरपालिकाभित्रका बासिन्दाहरुलाई व्यवस्थित, शुद्ध र नियमित खानेपानी व्यवस्थापन गर्ने काममा जुटिरहेको छ । मुख्य गरेर हाम्रो कार्यक्षेत्र भनेको भरतपुर महानगरपालिका हो । महानगरभित्र सम्पूर्णलाई खानेपानी व्यवस्थापन गर्ने काममा हामी लागिरहेका छौँ ।’
‘भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा पानी शुद्धिकरणमा कुनै समस्या छैन । हामीले गुणस्तरमा ध्यान दिएका छौँ’ बरालले भने, ‘बोर्डले वितरण गर्ने पानीको मुख्य स्रोत भनेको जमिनमुनिको पानी हो । हामीले हरेक वर्ष पानीका स्रोतहरुमा पानी परीक्षण गर्दछौँ ।’ खानेपानीको गुणस्तर मापदण्डअनुसार कायम राख्न हरेक महिना ३० वटा ग्राहकको धाराबाट नमुना लिएर परीक्षण गर्ने गरेको बरालले बताए ।