पर्यटकको रोजाइमा गोलाघाटको कल्चरल भिलेज रिसोर्ट

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रहेको कल्चरल भिलेज रिसोर्ट पर्यटकको रोजाईमा पर्न सफल भएको छ । गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले ७ वर्षअघि सुरु गरेको सन्सेट भ्यु रेस्टुरेन्ट एण्ड लजलाई नाम परिवर्तन गरी यसै वर्षदेखि कल्चरल भिलेज रिसोर्ट बनाएको हो ।

पुरानो शैलीमा निर्माण गरिएको यस रिसोर्टमा प्रवेश गरेपछि सुरुमै लिङ्गेपिङ आँखा अगाडि आइपुग्छ । बायाँतर्फ खरले छाएको गोलघरमा रिसेप्सन छ । दायाँतर्फ खरले छाएका कटेज लस्करै देखिन्छन् । कटेज अगाडि फराकिलो ठाउँ छ, जहाँ हरेक साँझ कुमाल र थारु जातिको साँस्कृतिक कार्यक्रम देखाइन्छ ।

राप्ती र नारायणी नदीको संगम गोलाघाटमा सूर्यास्तको मनोरम दृश्य हेर्न आउने पर्यटकहरु परम्परागत संस्कृतिको अवलोकनसँगै मौलिक खानाको परिकारमा रमाउने गरेको रिसोर्टका सञ्चालक कुमालले बताए ।

‘यहाँको स्थानीय परिकार चिचर, लोकल हाँस र कुखुराको मासु एवं घोँगीले पनि पर्यटकलाई आकर्षण गरिरहेको छ’ उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन् ।’

कल्चरल रिसोर्टमा ५ वटा कोठा छन्, जहाँ एक पटकमा २० जनासम्म बास बस्न सक्छन् । एउटा कोठाको दुई हजार पाँच सयदेखि तीन हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्छ । रिसोर्टमा अहिले दैनिक ४० देखि ५० जना आउने गरेको जानकारी दिँदै कुमालले शुक्रबार र शनिबार भने धेरै नै पर्यटक आउने गरेको बताए ।

यो रिसोर्टले १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । १० कठ्ठामा रहेको यस रिसोर्टमा ३ करोड लगानी भएको सञ्चालक कुमालले जानकारी दिए ।

गोलाघाट क्षेत्रमा सानाठुला गरेर ५७ वटा होटल तथा रिसोर्ट सञ्चालित छन् । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ घोषणा गरेपछि गोलाघाटमा पर्यटक आगमन बढेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू