मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

एटुजेड समाचार

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको ६४औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सांसद भीम रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न/गराउन तथा जलविद्युत्को धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र सम्वर्द्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको ध्यानाकर्षण गराउनेछन् ।

उक्त ध्यानाकर्षणका सम्बन्धमा सांसदद्वय यज्ञबहादुर बोगटी र राजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग गर्नेछन् ।यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसपछि राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।बैठकमा मन्त्री कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु