हबल्दारको कुटपिटबाट भरतपुर अस्पतालका दुई कर्मचारी घाइते

एटुजेड समाचार

चितवन,कात्तिक १० – प्रहरीको निर्घात कुटपिटबाट भरतपुर अस्पतालका दुई कर्मचारी घाइते भएका छन् । प्रहरीको कुटपिटबाट अस्पतालको पोस्टमार्टम कक्षमा कार्यरतकर्मचारी ६० वर्षीय पूर्ण विक र ४९ वर्षका देव आनन्द राई घाइते भएका हुन् । घाइते राईको ढाडमा निलडाम छ, भने विकको हात भाँचिएको छ । दुवै जनालाई प्रहरी हबल्दार जमिर अलिसेखले कुटपिट गरेका हुन् ।

कात्तिक ७ गते एक ६५ वर्षीया महिलाको पोष्टमार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा अलिसेखले उनीहरूमाथि कुटपिट गरेका हुन् । घाइते राई अहिले प्रहरीले नै कुटेको घटनामा न्याय माग्न कहाँ जाने भन्दै आफूहरु घरमै आराम गरेर बसेको बताएका छन् । घाइते राई हिँड्न सक्ने अवस्थामा छैनन् । घटना भए पनि भरतपुर अस्पताल प्रशासनले कुनै चासो तथा छानविन नगरेको उनको भनाइ छ ।

घटनाका आरोपित अलिसेखले चोरी भएको गहना खोज्ने क्रममा कुरा नखोलेपछि सोधपुछका क्रममा कुटपिट गरेको स्वीकार गरेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यलय चितवनले उजुरीमाथि कारवाही अगाडि बढाउने जनाएको छ । पीडित राई र विकले प्रहरी हवलदार अलिसेख विरूद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् । उजुरीमाथि छानबिन गरी दोषीलाई कारबाही गरिने चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु