असोज १५,काठमाडौँ– चितवनमा कुटिएका भष्ट्रचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको जाहेरी प्रहरी अस्विकार गरेको छ। शाही आवद्ध ‘नेपालका लागि नेपाली’ अभियानले मंगलबार काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिन खोजेपनि प्रहरीले चितवनको घटना भएको भन्दै दर्ता गर्न अस्विकार गरेको थियो।
चितवनमा सत्तारुढ नेकपाका कार्यकर्ताकाे आक्रमणबाट शाही घाइते भएका थिए। घाइते भएलगत्तै उनलाई राजधानीको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।
देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो।
त्यही कार्यक्रममा जानेक्रममा शाहीमाथी आक्रमण भएको थियो। काठमाडौँ प्रहरीले चितवनमै गएर जाहेरी दिन भनेको अभियानका एक सदस्यले जानकारी दिए।
शाहीको तर्फबाट अभियानका सदस्यहरु प्रहरीकहाँ जाहेरी दिन पुगेका थिए। ‘यो चितवनको क्षेत्राधिकारको विषय हो’, परिसरका एक अधिकारीले भने।
तर यसअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा काठमाडौँ प्रहरीले उनकी श्रीमतीको जाहेरी लिएर चितवन पठाएको थियो। देशसञ्चारबाट


