चितवन, असोज ३ – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको अध्यक्षमा हिम्मत पुरी निर्वाचित भएका छन् । संघको आज (शुक्रबार) सम्पन्न आठौ वार्षिक साधारणा सभा तथा पाचौ अधिवेशनबाट पुरी अध्यक्षमा निर्वाचित भएका हुन् । पुरीले ३२ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी एकराज डल्लाकोटीले १५ मत ल्याए । डल्लाकोटी १७ मतान्तरले पराजित भए ।
संघको उपाध्यक्षमा भने डल्लाकोटी प्यानलका समुन्द्र अर्याल बिजयी भए । उनले पुरी प्यानलका रविन केसीलाई १ मतको झिनो मतान्तरले पराजित गरे । अर्यालले २४ मत ल्याउदा केसीले २३ मत ल्याए । यस्तै सचिवमा पनि डल्लाकोटी प्यानलका हेमराज सिग्देलले पुरी प्यानलका सुदिप भट्टराईलाई १ मतको झिनो मतान्तरले पराजित गरे । सिग्देलले २४ मत प्राप्त गर्दा भट्टराईले २३ मत प्राप्त गरे ।
उता संघको कोषाध्यक्षमा डल्लाकोटी प्यानलकै दीपकचन्द्र भट्टराई बिजयी भए । उनले आफ्ना निकटम प्रतिद्वन्दी पुरी प्यानलका कृष्ण कँडेललाई १० मतान्तरले पराजित गरे । भट्टराईले २८ मत ल्याउदा कँडेलले जम्मा १८ मत ल्याए । यस्तै सदस्यहरुमा डल्लाकोटी प्यानलका किशोर सुवेदी (२७) र भविन्द्र गुरुङ (२५) तथा पुरी प्यानलका आशिष दवाडी (२५) र प्रभास थापा क्षेत्री (२४) बिजयी भए ।



