नवलपुर – नवलपरासीको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा ‘ठमेल बियर गार्डेन’ सञ्चालनमा आएको छ । नयाँ आतिथ्य तथा मनोरञ्जन गन्तव्यका रूपमा स्थापना गरिएको बियर गार्डेनको सफ्ट लन्चसँगै चितवन र नवलपुर क्षेत्रका बासिन्दा तथा आगन्तुकका लागि खानपान, मनोरञ्जन र भेटघाटको नयाँ विकल्प थपिएको छ ।
ठमेलको जीवन्त वातावरण र आतिथ्य संस्कृतिको झल्को दिने उद्देश्यसहित सुरु गरिएको बियर गार्डेनको उद्घाटन समारोहमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, आन्तरिक राजस्व विभागका प्रमुख युगल किशोर गौतमलगायत विशिष्ट अतिथि, शुभेच्छुक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
उन्नति कल्चरल भिलेजको सांस्कृतिक परिवेशमा सञ्चालनमा आएको ठमेल बियर गार्डेनले आगन्तुकलाई साथीभाइ तथा परिवारसँग भेटघाट गर्न, स्वादिष्ट खानपानको आनन्द लिन र फुर्सदको समय रमाइलोसँग बिताउन आत्मीय वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
आधुनिक मनोरञ्जन र मौलिक सांस्कृतिक पहिचानलाई एउटै स्थानमा जोड्ने प्रयासका रूपमा हेरिएको यस गन्तव्यले हर्कपुरको पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ । विशेषगरी नारायणगढ, भरतपुर, गैँडाकोट र आसपासका क्षेत्रका बासिन्दाका लागि यो नयाँ आकर्षण बन्न सक्ने देखिन्छ ।
संस्कृति र सिर्जनशीलताको केन्द्र उन्नति कल्चरल भिलेज
चौधरी फाउन्डेसनको पहलमा सन् २०२१ मा स्थापना भएको उन्नति कल्चरल भिलेज सीजी हस्पिटालिटीअन्तर्गत सञ्चालित सांस्कृतिक गन्तव्य हो । नवलपुरको गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा अवस्थित यो भिलेज करिब ६ बिघा क्षेत्रफलमा फैलिएको छ ।
नेपाली कला, साहित्य र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यस केन्द्रले विशेषगरी आदिवासी थारू समुदायको कला, परम्परा र संस्कृतिको संरक्षणमा जोड दिँदै आएको छ । नेपालको मौलिक कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तामाझ परिचित गराउँदै जीवन्त राख्न विभिन्न गतिविधिसमेत सञ्चालन हुँदै आएका छन् ।
यहाँ नेपाली कला संग्रहालय, आर्ट सेन्टर, कलाकार आवास (कला घर), खुला संग्रहालय (कला बाटिका) तथा सांस्कृतिक बहुउद्देश्यीय हललगायत संरचना रहेका छन् । कला प्रदर्शनी, सिर्जनात्मक कार्यशाला, स्थानीय परिकारको प्रवर्द्धन तथा स्थानीय किसान र हस्तकलाकर्मीका उत्पादनलाई प्राथमिकता दिँदै यसले सांस्कृतिक पर्यटन र सामुदायिक सहभागितालाई प्रोत्साहन गर्दै आएको छ ।
परम्परागत कला, हस्तकला, नृत्य, संगीत, खानपान, भाषा र जीवनशैलीलाई आधुनिक समयसँग जोड्ने उद्देश्य बोकेको उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेनको सुरुवातले मनोरञ्जन र आतिथ्य सेवाको अर्को आयाम थपेको छ । यसले हर्कपुरलाई सांस्कृतिक अनुभवसँगै खानपान र मनोरञ्जनका लागि पनि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


