एक दशकदेखि अलपत्र रत्ननगर सभाहल अस्पताललाई हस्तान्तरण गर्ने मन्त्रीको प्रतिबद्धता

एटुजेड समाचार

नारायणगढ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लामो समयदेखि अलपत्र रत्ननगर सभाहलको आज निरीक्षण गर्दै उनले अस्पतालको सेवा विस्तारका लागि उक्त संरचना उपयोगी हुने भएकाले अस्पताललाई हस्तान्तरण गर्न आफूले प्रयास गर्ने बताए ।

स्थानीयको माग र आवश्यकताअनुसार सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले नगरपालिकासँग समन्वय गरेर अस्पतालले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । विसं २०७३ देखि निर्माण सुरु भएको सभाहल एक दशकसम्म पनि पूरा भएको छैन ।

चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले पनि सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै यस विषयमा आफूले मन्त्रीसँग पहिलेदेखि नै छलफल गर्दै आएको बताए ।

अस्पतालले उक्त संरचना प्राप्त गरे नर्सिङ कलेज सञ्चालन, बिरामीका लागि थप सेवा तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज हुने बताए ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले एउटै नगरपालिकामा दुईवटा सभाहल आवश्यक नभएकाले अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने बताए ।

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा अङ्कुर पौडेलले अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने गरेका जानकारी दिँदै भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको बताए ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले बिरामीको चाप बढ्दै गएको अवस्थामा सभाहल उपयोग गर्न पाए स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम विस्तार गर्न सकिने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु