बाला चतुर्दशीको तयारी तीव्र, पशुपति क्षेत्रमा लाखौँ भक्तजनको सुरक्षाका लागि विशेष प्रबन्ध

एटुजेड समाचार

काठमाडौं। आगामी मङ्सिर २१ गते सोमबार पशुपति क्षेत्रमा श्रद्धापूर्वक मनाइने पवित्र धार्मिक पर्व ‘बाला चतुर्दशी’ को तयारी तथा सुरक्षा प्रबन्धसम्बन्धी कामहरू तीव्र पारिएको छ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस पर्वलाई अत्यन्तै व्यवस्थित, सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरूसँग उच्चस्तरीय सुरक्षा व्यवस्थापन बैठक सम्पन्न गरेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले दिएको जानकारी अनुसार यस वर्षको बाला चतुर्दशी पर्वलाई व्यवस्थित बनाउन व्यापक छलफल गरिएको छ।

पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा देशैभरिबाट आउने लाखौँ भक्तजनहरूको सहज दर्शन, भीडभाडको प्रभावकारी व्यवस्थापन, कडा शान्ति सुरक्षा तथा अन्य आवश्यक प्रबन्ध मिलाउने विषयमा बैठकमा गम्भीरताका साथ विमर्श भएको छ।

पर्वको सफल व्यवस्थापनका लागि सम्बन्धित सबै सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूबीच आपसी समन्वय र सहकार्यलाई समेत अझ मजबुत बनाइएको कोषले जनाएको छ।

सनातन वैदिक हिन्दू धर्मअनुसार मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्याकालमा पशुपति क्षेत्रको कैलाश डाँडा, मृगस्थली, विश्वनाथ तथा बागमती किनारलगायतका पवित्र स्थानहरूमा दिवङ्गत पितृहरूको मोक्ष र शान्तिका कामना गर्दै दीपदान (बत्ती बाल्ने) र रातभर जाग्राम बस्ने प्राचीन परम्परा रहिआएको छ।

यसैगरी, त्यसको भोलिपल्ट अर्थात् मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान सबेरै पशुपति क्षेत्रका विभिन्न भूभागमा शतबीज छरेर बाला चतुर्दशी पर्व विधिवत् रूपमा सम्पन्न गरिन्छ।

आउने मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृहरूको स्मृतिमा बत्ती बाल्ने र रात बिताउने श्रद्धालु भक्तजनहरूको विशाल घुइँचो लाग्ने गर्दछ।

पशुपति क्षेत्रको मुख्य मन्दिर परिसरका साथै देशका अन्य विभिन्न भागहरूमा अवस्थित प्रख्यात शिवालयहरूमा पनि मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्नेहरूको ठूलो भीड जम्मा हुने गर्छ।

यस वर्षको पर्वमा पनि भक्तजनहरूलाई कुनै पनि किसिमको असहजता नहोस् भनी सुरक्षा निकाय र कोषले आवश्यक सम्पूर्ण पूर्वतयारीहरू मिलाइरहेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु