काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै आफ्नो पार्टीका करिब १ लाख १० हजार क्रियाशील सदस्यहरूको विवरण सफलतापूर्वक अद्यावधिक गरेको छ।
पार्टी संगठनमा आबद्ध भई सम्बन्धित वडा, नगर, प्रदेश क्षेत्र तथा केन्द्रमा सक्रिय रूपमा राजनीति गर्दै आएका सदस्यहरूको सदस्यता अद्यावधिक गरिएको पार्टी नेता राजाराम श्रेष्ठले जानकारी दिएका छन्।
आगामी मङ्सिर २६ देखि २८ गतेसम्म राजधानी काठमाडौंमा हुन गइरहेको पार्टीको महाधिवेशनको तयारीस्वरूप यो प्रक्रिया तीव्रताका साथ अघि बढाइएको हो।
यसअघि राप्रपाका कुल क्रियाशील सदस्यहरूको संख्या करिब डेढ लाख रहेको थियो। पार्टीले समयसापेक्ष सदस्यता विवरणलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यो अद्यावधिक गरेको जनाएको छ।
नेता श्रेष्ठका अनुसार, देशभरका क्रियाशील सदस्यहरूको सहभागितामा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अहिले अन्तिम चरणमा पुगेको छ। यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट अनिवार्य रूपमा तीन जना महिलासहित कुल नौ जना प्रतिनिधिहरू निर्वाचित भएर आउने व्यवस्था गरिएको छ।
पार्टीको आगामी केन्द्रीय महाधिवेशनलाई सफल बनाउन हालसम्म देशका ७६ वटा जिल्लाहरूमा जिल्ला अधिवेशन तथा पाँचवटै प्रदेशमा प्रदेश अधिवेशनहरू सम्पन्न भइसकेका छन्।
विभिन्न तहका अधिवेशनहरूबाट निर्वाचित भएका अध्यक्षहरू पदेन प्रतिनिका रूपमा केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाउने विधानगत व्यवस्था गरिएको छ। यसै आधारमा पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित भएका अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि बनेका छन्।
यसपटकको महाधिवेशनमा युवा सहभागितालाई विशेष प्राथमिकता दिइएको पार्टीका अर्का नेता केशव श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार, सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि निर्वाचित भएर आउने प्रतिनिधिहरूमा ४० वर्षभन्दा कम उमेरका युवाहरूको कम्तीमा एक जनाको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ, जसले पार्टीमा युवा नेतृत्वको आकर्षण र प्रतिनिधित्वलाई थप बलियो बनाउनेछ।


