चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
कार्यालयका अनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
पहिरो रोकथामको कामलाई सुरक्षित रूपमा अघि बढाउन दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यद्यपि, काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने सडकखण्डमा चल्ने सवारीसाधनको आवागमन भने नियमित रहने सूचनामा उल्लेख छ ।
सडक बन्द हुने समयलाई ध्यानमा राखी आफ्नो यात्रा योजना बनाउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।
सडक बन्दसम्बन्धी थप जानकारी तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सडक डिभिजन कार्यालय भरतपुरले उपलब्ध गराएका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।


