असोजमा महँगी बढेर ६.३७ प्रतिशत

एटुजेड समाचार

काठमाडौं –  चालु आर्थिक वर्ष असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत वर्षको तुलनामा बढेर ६.३७ प्रतिशत पुगेको छ । गत आव सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत थियो ।

चालु आव २०८३/८४ को तीन महिनाको औसत मुद्रास्फीति पनि गत आव सोही अवधिको १.६७ प्रतिशतबाट बढेर ६.२२ प्रतिशत पुगेको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै समूहको मुद्रास्फीति बढेको छ । गत आव सोही अवधिमा २.५४ प्रतिशत ऋणात्मक रहेको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समीक्षा महिनामा बढेर ८.०४ प्रतिशत पुगेको छ ।

यसैगरी गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति गत आवको ३.८० बाट बढेर ५.४६ प्रतिशत पुगेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.४४ प्रतिशत बढेको छ भने फलफूलको १५.४६, चिनी तथा चिनीजन्य पदार्थ ११.८४, माछा तथा मासु ८.९१, मरमसला ७.७१ र तरकारीको ७.२८ प्रतिशत वृद्धि भएको छ ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.९७ प्रतिशत, मदिराजन्य पेय पदार्थ ८.८३, कपडा तथा जुत्ताचप्पल ७.०६, फर्निसिङ तथा घरायसी उपकरण ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशत बढेको छ ।

क्षेत्रगत आधारमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्य सूचकांक वृद्धिदर बढी देखिएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.६३ प्रतिशत बढ्दा सहरी क्षेत्रको मूल्य सूचकांक ६.२८ प्रतिशत बढेको छ ।

प्रदेशगत समीक्षा महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति मधेसमा सबैभन्दा बढी ७.३७ र सुदूरपश्चिममा सबैभन्दा कम ५.१३ प्रतिशत छ ।

यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९२, तराई ६.८८, पहाड ६.१४ र हिमालको ५.५७ प्रतिशत छ ।

उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीति पनि उकालो लागेको छ । गत आव असोजमा १.३२ प्रतिशत रहेको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २०८३ असोजमा बढेर ७.२९ प्रतिशत पुगेको छ ।

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.८७ प्रतिशत बढेको छ भने मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमश: ९.९८ र ६.५६ प्रतिशत छ । त्यस्तै निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.९३ प्रतिशत बढेको छ ।

भारतको तुलनामा नेपालमा उपभोक्ता मुद्रास्फीति बढी देखिएको छ । २०८३ असोजमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहँदा सन् २०२६ अक्टोबरमा भारतमा यस्तो मुद्रास्फीति ६.०९ प्रतिशत छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु