चितवन – बालकुमारी कलेजमा बीबीएस कार्यक्रममा ३२.४ प्रतिशत तथा सेमेस्टर प्रणालीअन्तर्गत सञ्चालित विभिन्न संकायमा गरिएको शुल्कवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) बालकुमारी कलेज मूल इकाई समितिले कलेज प्रशासनमा तालाबन्दी गरेको छ।
विद्यार्थी संगठनसँग विगतमा भएका सहमति कार्यान्वयन नगरेको र शुल्कवृद्धिसम्बन्धी निर्णय खारेज गर्नुपर्ने मागलाई कलेज प्रशासनले बेवास्ता गरेको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको संगठनले जनाएको छ।
अखिल (क्रान्तिकारी) ले शिक्षालाई सेवामूलक क्षेत्रभन्दा व्यापारिक केन्द्र बनाउने प्रवृत्तिको विरोध गर्दै विद्यार्थी तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने कार्य स्वीकार्य नहुने जनाएको छ। संगठनले शुल्कवृद्धिसम्बन्धी निर्णय तत्काल खारेज गर्न, विगतका सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न र विद्यार्थीका जायज माग सम्बोधन गर्न कलेज प्रशासनसँग माग गरेको छ।
अखिल (क्रान्तिकारी) बालकुमारी कलेज मूल इकाई समितिका अध्यक्ष नदिश मरहट्टाले विद्यार्थीका माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
संगठनले ‘शिक्षा अधिकार हो, व्यापार होइन’ भन्ने नारासहित विद्यार्थीको शैक्षिक अधिकार र न्यायका पक्षमा आफ्नो संघर्ष जारी रहने जनाएको छ।


