काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर ६ गते हुने भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्र सहभागी हुने निश्चित भएको छ । परराष्ट्र मन्त्रालय तथा उच्च सरकारी स्रोतका अनुसार भ्रमण टोलीमा रहने मन्त्रीहरूको सूची अन्तिम समयमा हेरफेर गर्दै सीमित प्रतिनिधिमण्डल तय गरिएको हो।
यसअघि भ्रमणमा जाने तय भएका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अन्तिम समयमा भारत नजाने भएका छन्। साथै भारतमै रहेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई भ्रमण टोलीमा सहभागी गराउने वा नगराउने भन्ने विषयमा पनि टुंगो लागिसकेको छैन। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत प्रस्थान गरी मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भ्रमणमा नजाने भएका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई प्रधानमन्त्री शाहको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जनाएको छ। यद्यपि यसबारे औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन।
यसअघि नेपाल र भारतबीच हवाई प्रवेशमार्ग, ऊर्जा तथा भौतिक पूर्वाधारसम्बन्धी महत्त्वपूर्ण समझदारी हुन सक्ने अपेक्षासहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई समेत भ्रमण टोलीमा समावेश गर्नेबारे छलफल भएको थियो। तर ती विषयगत मन्त्रालयका मन्त्रीहरू भ्रमणमा सहभागी नहुने भएपछि सम्बन्धित क्षेत्रमा ठोस सम्झौता हुने सम्भावना कम रहेको अर्को सरकारी स्रोतको आकलन छ ।
प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली जान लाग्नुभएको हो। भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्तासँगै छुट्टै भेटवार्ता हुने कार्यक्रम छ।
नेपालले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा भारततर्फबाट आउने अन्तर्राष्ट्रिय उडान सहज बनाउन थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ भने ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ। छोटो अवधिको यो भ्रमणलाई औपचारिक भेटघाट र निर्धारित कार्यक्रममै सीमित राख्ने तयारी भइरहेको जनाइएको छ।


