एनपीएल दोस्रो क्वालिफायर आज: फाइनलका लागि सुदूरपश्चिम र चितवन भिड्दै

एटुजेड समाचार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गर्न बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने यस निर्णायक खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ। लिग चरणको अंक तालिकामा दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो तथा अन्तिम अवसरका रूपमा आज मैदान उत्रन लागेको हो।

अर्कोतर्फ, चितवनले बुधबार सम्पन्न एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो। एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको विस्फोटक पारीको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ चितवनका बलर रिजन ढकालको ४ र उसामा मिरको ३ विकेटको घातक बलिङसामु १४३ रनमै समेटिएको थियो।

उत्कृष्ट लयमा देखिएको चितवन सोही लयलाई निरन्तरता दिँदै पहिलोपटक प्रतियोगिताको फाइनल पुग्ने दाउमा छ। यता, लगातार दुई सिजनको उपविजेता सुदूरपश्चिम भने पहिलो क्वालिफायरको हार बिर्साउँदै तेस्रोपटक उपाधि होडमा पुग्ने लक्ष्यमा छ। सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपाधिबाट विमुख बनेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु