चितवन, भरतपुर–१५, मंगलपुर। आदर्श गृह नेपालको संकल्पमा आयोजित श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञअन्तर्गत आज विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा १०८ कन्या पूजन सम्पन्न भएको छ। हिन्दू धर्म र संस्कृतिमा कन्यालाई देवी भगवतीको स्वरूप मानेर पूजा गर्ने धार्मिक परम्पराअनुसार महायज्ञ स्थलमा १०८ कन्याहरूको विधिपूर्वक पूजा गरिएको हो।
कार्यक्रममा कन्याहरूलाई टीका, फूलमाला तथा प्रसाद अर्पण गरी सम्मान गरिएको थियो। कन्या पूजनले नारी शक्ति, मातृत्व, संस्कार र धार्मिक आस्थाको महत्त्वलाई उजागर गरेको छ। महायज्ञमा सहभागी भक्तजन तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। धार्मिक अनुष्ठानसँगै सामाजिक सद्भाव, संस्कार, संस्कृति र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
आदर्श गृह नेपालको संकल्पमा सञ्चालन भइरहेको यस विराट ज्ञान महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै समाजमा सकारात्मक सोच, आध्यात्मिक जागरण र सेवाभावको सन्देश प्रवाह गरेको छ। १०८ कन्या पूजनसँगै महायज्ञ स्थल भक्तिमय र उल्लासमय बनेको थियो।


