काठमाडौं – काठमाडौं उपत्यकावासीले अब ढुक्क भएर स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने भएका छन् ।लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ लाई सरकारले आज (मंगलबार) देखि काठमाडौं उपत्यकामा कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार ऐन कार्यान्वयनको पहिलो चरण मंसिर १ गतेदेखि उपत्यकाका दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका गरी २१ वटै स्थानीय तहमा सुरु भएको छ ।
सरकारले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै उपत्यकाभित्र परीक्षण नगरिएका, अव्यवस्थित र खुला रूपमा काटिएका मासुको बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाउनेछ ।
रोगी र मरेका पशुपन्छी (खसी, बोका, भेडा, च्याङ्ग्रा, सुँगुर, बंगुर, भैंसी, बँदेल, खरायो, कुखुरा, हाँस, परेवा) को मासु बिक्री गर्न नपाइने व्यवस्था गर्दै सरकारले पहिलो चरणमा आजदेखि उपत्यकाका सम्पूर्ण स्थानीय तहमा यो ऐन कार्यान्वयनमा ल्याएको हो।सरकारले भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गरेर उक्त ऐन कार्यान्वयनमा ल्याएको छ ।


