काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीकाको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।
उनले पौराणिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनाबीचको प्रेम र सम्बन्धको प्रसङ्ग उल्लेख गरेका छन् । यमुनाको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको विश्वास रहेको उनले उल्लेख गरेका छन् ।
भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने तथा दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा दिएर आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनले स्मरण गरेका छन् ।
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना दिएका छन् ।


