बेङ्गलुरु,मुम्बई – भारतका बैंक तथा वित्तीय संस्थामाथि एआई प्रयोग गरेर साइबर आक्रमण भइरहेको खुलासा भएको छ ।
भारतको साइबर सुरक्षा निकायले वित्तीय संस्थालाई लक्षित गरी भएका आक्रमणमा संलग्न समूहको नाम सार्वजनिक गर्दै प्रयोग गरिएका चार वटा एआईमा आधारित ह्याकिङ उपकरण पहिचान गरेको छ, तीमध्ये कम्तीमा दुई वटा उपकरण चीनसँग सम्बन्धित रहेको साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले बताएका छन् ।
भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सीईआरटी–इन) ले बुधबार जारी गरेको चेतावनीपत्रमा ‘क्राफ्टी फाल्कन’ नाम दिएको ह्याकिङ समूहले गैरबैंकिङ वित्तीय संस्था, फिनटेक कम्पनी र क्रिप्टोकरेन्सी एक्सचेन्जहरूमा साइबर हमला गरेको उल्लेख छ । तर सीईआरटी–इनले आक्रमणकारी समूहको वास्तविक पहिचान, त्यसको सञ्चालन केन्द्र वा कुन संस्थाले आक्रमण गराएको हो भन्नेबारे खुलाएको छैन । आक्रमण राज्य प्रायोजित भएको प्रमाण पनि प्रस्तुत गरिएको छैन ।
भारतमा पछिल्ला केही सातादेखि बैंक तथा गैरबैंकिङ वित्तीय संस्थामाथि साइबर आक्रमणका घटना बढिरहेका बेला यस्तो चेतावनी आएको हो । यसअघि भारतीय अधिकारीहरूले साइबर सुरक्षासम्बन्धी सतर्कता जारी गरेका थिए भने भारतीय रिजर्भ बैंकले पनि वित्तीय संस्थाको साइबर सुरक्षा जाँच कडा बनाएको थियो ।
सीईआरटी–इनका अनुसार आक्रमणकारीहरूले सार्वजनिक रूपमा उपलब्ध एआई उपकरण प्रयोग गरी अत्यन्त तीव्र गतिमा प्रणालीमा अनधिकृत प्रवेश गर्ने गरेका छन् । निकायले यसलाई ‘मेसिनको गतिमा’ सञ्चालन हुने सक्रिय र निरन्तर साइबर खतरा भनेको छ ।
उसले पहिचान गरेका चार उपकरणमा आर्टेक्स, पेन्टएजीआई, केर्न र साइबरस्ट्राइकएआई छन् । साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले यीमध्ये कम्तीमा दुई उपकरण चीनसँग सम्बन्धित रहेको बताएका छन् । साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकका अनुसार चीनमा विकसित आर्टेक्स उपकरण सेप्टेम्बरको अन्त्यदेखि दक्षिण कोरियाका बैंकहरूमाथि भएका साइबर आक्रमणमा प्रयोग भएको थियो । कम्पनीले चीनसँग सम्बन्धित एउटा समूहले यही उपकरण प्रयोग गरी कम्तीमा १४ देशका २०० भन्दा बढी संस्थालाई लक्षित गर्दै जासुसी अभियान सञ्चालन गरेको पनि जनाएको छ ।
सीईआरटी–इनले आक्रमणबाट प्रभावित कम्पनीहरूको नाम र चोरी भएको रकमबारे भने जानकारी दिएको छैन । उसले उल्लेख गरेका उपकरणहरू इन्टरनेटमा निःशुल्क उपलब्ध थिए । यद्यपि, दक्षिण कोरियाका बैंकमाथिको आक्रमणसँग सम्बन्ध जोडिएपछि आर्टेक्सका विकासकर्ताले गत महिना उक्त उपकरणलाई निजी पहुँचमा सीमित गरेका थिए ।
भारतको सीईआरटी–इन, भारतीय साइबर अपराध समन्वय केन्द्र र सूचना प्रविधि मन्त्रालयले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन् ।
भुक्तानी प्रणालीलाई नै बनाए आक्रमणको माध्यम
सीईआरटी–इनका अनुसार ‘क्राफ्टी फाल्कन’ समूहले एआईको सहयोगमा आफ्ना लक्ष्यहरूको अध्ययन तथा निगरानी गर्छ । त्यसपछि सम्बन्धित संस्थाकै भुक्तानी र रकम वितरण प्रणाली प्रयोग गरेर पैसा अन्यत्र सार्ने गर्छ ।
आक्रमणकारीहरूले बिदा, सप्ताहान्त र सुरक्षा निगरानी कमजोर हुने अन्य समयमा आक्रमण गर्ने गरेको पनि चेतावनीपत्रमा उल्लेख छ । यसरी आक्रमण गर्दा अनधिकृत गतिविधि तत्काल पत्ता लाग्ने सम्भावना कम हुने र त्यसलाई पहिचान गर्न ढिलाइ हुने उनीहरूको उद्देश्य देखिन्छ ।
यसअघि सुरक्षा कमजोरी पहिचान गरी सुधार गरिसकेका संस्थामाथि पनि पुनः आक्रमण भएको सीईआरटी–इनले जनाएको छ । उसका अनुसार केही संस्थाले पहिले प्राप्त चेतावनीपछि प्रणालीमा देखिएका कमजोरी पूर्ण रूपमा समाधान नगर्दा आक्रमणकारीले पुनः त्यही कमजोरीको फाइदा उठाएका थिए । यसअघि रोयटर्सले प्रहरीमा परेको उजुरीलाई उद्धृत गर्दै मुम्बईमा मुख्यालय रहेका दुई गैरबैंकिङ ऋणदाताले अक्टोबर ८ र ९ मा करिब २० लाख अमेरिकी डलर गुमाएको समाचार प्रकाशित गरेको थियो । भारतको तेस्रो ठूलो ऋणदाता आईसीआईसीआई बैंकका खाताबाट ७०० भन्दा बढी अनधिकृत रुपमा तत्कालीन रकम स्थानान्तरणमार्फत उक्त रकम निकालिएको उजुरीमा उल्लेख थियो ।
उजुरीअनुसार ह्याकरहरूले बैंकका एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मा अनधिकृत पहुँच बनाएका थिए । एपीआई भनेको बैंक तथा गैरबैंकिङ वित्तीय संस्था र फिनटेक कम्पनीबीच सूचना आदानप्रदान तथा ऋण वितरणसम्बन्धी निर्देशन पठाउन प्रयोग हुने सफ्टवेयर प्रणाली हो ।
यसैबिच भारतको सबैभन्दा ठुलो ऋणदाता भारतीय स्टेट बैंक (एसबीआई) ले गत महिना डार्क वेबमा आफ्ना ३ हजार ८९७ ग्राहकका विवरण चुहिएको जानकारी दिएको थियो । गैरबैंकिङ वित्तीय संस्था स्पन्दना स्फूर्ति फाइनान्सियलले नोभेम्बर १ मा आफ्नो बैंक खाताबाट अनधिकृत रूपमा रकम काटिएको जनाएको थियो । त्यस्तै, एयू स्मल फाइनान्स बैंकले ग्राहकको विवरण चुहिएको हुन सक्ने घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।


