स्रोत नखुलेको ४४ लाख बढी नगदसहित दुई जना पक्राउ

एटुजेड समाचार

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त ठूलो परिमाणको रकम बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले भारतबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्दा ३० लाख रुपैयाँ भेटिएको थियो। सो क्रममा मोटरसाइकल चालक भारतको बिहार पूर्वी चम्पारणका ३० वर्षीय सनीकुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जैसवालमाथि गरिएको प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याइएको खुल्न आएको छ। तत्पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त फर्ममा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ फेला परेको थियो। यससँगै प्रहरीले पसल सञ्चालक शेख कमरुललाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार दुवै स्थानबाट बरामद कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु