काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गर्ने सरकारको निर्णयप्रति तीखा कटाक्ष गरेका छन्। नवनियुक्त आईजीपी डा. मनोज केसीको नियुक्तिलाई लक्षित गर्दै उनले सरकारले आफ्नो अनुकूल काम गराउन नेतृत्व बदलेको आरोप लगाएका हुन्।
बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिएका हुन्। सरकारले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा. केसीलाई जिम्मेवारी दिएको प्रसङ्गमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै ओलीले उहाँहरूले अर्हाएको काम गर्छन् भनेर नै नयाँ आईजीपी बनाएको होला भन्ने टिप्पणी गरे।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदमुक्त गर्दै विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। लगत्तै सरकारले डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ प्रमुखमा नियुक्त गरेको थियो। सरकारको उक्त निर्णय सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दलका नेताबाट यस्तो राजनीतिक प्रतिक्रिया आएको हो।


