काठमाडौं । रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेशस्थित शिमला पुगेका डडेल्धुराका तीन जना नेपाली नागरिकको सडक दुर्घटनामा परी ज्यान गएको छ।
शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डल अन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक भएको उक्त दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिका–६ भौनाकी मीना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सो दुर्घटनामा स्थानीय बासिन्दासहित पाँच जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी एक नेपाली नागरिक गम्भीर घाइते भएका छन् भने उनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि आईजीएमसी शिमला रिफर गरिएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय प्रहरी टोलीले तत्काल उद्धार तथा अनुसन्धानको कार्य अघि बढाएको छ। दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी रहेको र यस विषयमा थप विवरण आउन बाँकी रहेको बताइएको छ।


