काठमाडौं – विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समाचार लेखेकै आधारमा प्रहरीले सञ्चारगृहको कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि गरिएको धरपकडलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहारका रूपमा व्याख्या गरेको छ। कानुन कार्यान्वयनको नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ।
लोकतन्त्रमा सञ्चार जगत्ले नागरिकको आवाज मुखरित गर्ने र नागरिकलाई सुसूचित गराउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै रास्वपाले प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सूचनाको हकमाथिकै कुठाराघात भएको जनाएको छ।
विज्ञप्तिमा समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु पत्रकारको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्म भएको उल्लेख गरिएको छ। प्रकाशित समाचारप्रति कसैको विमति वा कानुनी प्रश्न भए स्थापित कानुनी प्रक्रिया र सम्बन्धित वैधानिक निकायमार्फत निरूपण गरिनुपर्ने रास्वपाको धारणा छ।
सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त निकाय हुँदाहुँदै स्थापित कानुनी प्रक्रियालाई छलेर पत्रकारमाथि धरपकड गर्नु विधिको शासनको उल्लङ्घन भएको पार्टीले जनाएको छ।
रास्वपाले पत्रकार नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको घटनाको निष्पक्ष, पारदर्शी तथा यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका पत्रकारलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न जोडदार माग गरेको छ।
पत्रकारलाई कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता गर्न आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता पनि प्रकट गरेको छ।
सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सधैँ अग्रमोर्चामा उभिने प्रतिबद्धता जनाएको छ।


