काठमाडौँ – उद्योग विभागले नदी तथा खोलाहरूमा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ।
दीपावली तथा छठ पर्वको समयमा वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपासका उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीका कारण स्थानीय बासिन्दालाई चाडपर्व मनाउन समेत कठिनाइ भएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।
विभागले शुक्रबार जारी गरेको सूचनामा उद्योगहरूबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले तोकेको वातावरणीय मापदण्ड अनुरूप प्रशोधन गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन भनिएको छ।साथै, चाडपर्वको अवसरमा नदीको स्वच्छता कायम राख्न उद्योगहरूलाई आफ्नो तर्फबाट ‘डिप बोरिङ’ वा अन्य स्रोतबाट स्वच्छ पानी नदीमा पठाएर थप सहयोग गर्नसमेत अनुरोध गरिएको छ।
विभागले दिएको निर्देशन कार्यान्वयन भए नभएकोबारे स्थलगत रूपमा कडा अनुगमन गरिने जनाइएको छ। त्यसका लागि उद्योग मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेश अन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूको संयुक्त टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गर्नेछ।
कानुनको परिपालना गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै विभागले प्रचलित वातावरणीय कानुन र मापदण्डको परिधिभित्र रही नदी प्रदूषण नियन्त्रणमा जिम्मेवार बन्न उद्योगीहरूलाई सचेत गराएको छ।


