नारायणगढ – चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर महानगरपालिका–२० बस्ने ३८ वर्षीय रोशन गुरुङ र भरतपुर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामा रहेका छन् ।
उनीहरूका साथबाट ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३९ हजार ५०० नगद र एक थान ‘डिजिटल’ तराजुलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले जानकारी दिए ।
निजहरूविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


