बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन् ।
हेटौँडाको पहिचानका रुपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए ।
दसैँको बिदामा हरेक वर्ष पर्यटकहरूको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टिकाको दिन पछि कोजाग्रत पूर्णिमासम्म दैनिक दुई हजारभन्दा बढी पर्यटकहरू स्मारकमा आउने गरेको जानकारी दिए ।
एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ शहीद र ज्ञातअज्ञात शहीदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको शहीद स्तम्भदेखि यहाँ रहेका मनमोहन बाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना आदि प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
त्यस्तै विभिन्न जनावरहरू रहेको मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क आदिले यहाँको आकर्षण बढाएका छन् ।
दसैँ बिदाको समयमा आउने पर्यटकलाई लक्षित गरी विजयादशमीका दिन पनि स्मारक खुला राखिएको थियो । लेखा अधिकृत बिडारीले वर्षको ३६५ दिन नै स्मारक खुल्ने गरेको जानकारी दिए ।
दसैँ बिदा अवधिमा पर्यटकले प्रवेशबापत काटेको टिकटबाट नौ लाख ३७ हजार ८६५ आम्दानी भएको उनले जानकारी दिए ।


