चितवन – चितवनका जग्गा तथा आवास व्यवसायीले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउँदै भू–उपयोग नीतिलाई स्पष्ट बनाउन सरकारसँग माग गरेका छन्।
व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी घरजग्गा कारोबारमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्न आग्रह गरेका हुन्।
सौराहामा भएको भेटघाटमा नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा गएको टोलीले मन्त्री रावलसमक्ष जग्गा कित्ताकाटमा देखिएका समस्या, भू–उपयोग नीतिको अन्योल तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थाबारे ध्यानाकर्षण गराएको हो।
भेटका क्रममा संघका अध्यक्ष अधिकारीले घरजग्गा कारोबार सरकारको राजस्वको महत्त्वपूर्ण स्रोत भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताए। उनले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन, भू–उपयोग नीतिलाई स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थालाई व्यवसायी र सर्वसाधारणका लागि सहज हुने गरी पुनरावलोकन गर्न आग्रह गरे।
जग्गा कारोबारमा देखिएका समस्याका कारण व्यवसायी मात्र नभई सर्वसाधारणको जग्गा किनबेच र आवास निर्माणका गतिविधिसमेत प्रभावित भएको व्यवसायीले बताए। उनीहरूले नीतिगत स्पष्टता र सहज प्रक्रियाले घरजग्गा क्षेत्रको कारोबार बढाउनुका साथै सरकारी राजस्वमा समेत सकारात्मक योगदान पुग्ने धारणा राखे।
व्यवसायीका माग सुनेपछि मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताइन्। उनले जग्गा कित्ताकाट खुलाउने विषयमा छिट्टै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायीले बताएका छन्।
भेटमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत जग्गा तथा आवास व्यवसायीको सहभागिता थियो।
जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटेर कारोबार प्रक्रिया सहज भएमा घरजग्गा क्षेत्रलाई व्यवस्थित बनाउन, आवास निर्माणका गतिविधि बढाउन र आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा व्यवसायीले गरेका छन्।


