सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण आगामी माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ।
आयोजक सहारा क्लबले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने मूल नारासहित प्रतियोगिता विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ।
हिम श्री फुड्स प्रालिको उत्पादन ‘आहा रारा’ तयारी चाउचाउको मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता सञ्चालन हुनेछ।
पोखरामा फुटबलको विकास र खेलकुदको प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको क्लबले जनाएको छ।
क्लबले पोखरा महानगरपालिका–१७, दोबिल्लामा फुटबल एकेडेमीसमेत सञ्चालन गर्दै आएको छ।


