चितवन : नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन् । नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै दसैँको खुसी साटासाट गरेका हुन् ।
सौराहाका होटलहरूले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरेका छन् । होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठ, होटल पार्क साइडकी सावित्रा परियार, राइनो लज एन्ड होटलका सञ्चालक रामकुमार अर्याल तथा हालै सञ्चालनमा आएको होटल रोयल टुलिपका सेफ कुमार बोगटीले पर्यटकलाई टीका र जमरा लगाइदिँदै आशीर्वाद दिएका थिए ।
विदेशी भूमिमा नेपालीको चाडपर्व मनाउने अवसर पाउँदा पर्यटक निकै उत्साहित देखिन्थे । नेपाली परम्पराअनुसार टीका र जमरा लगाउँदै आशीर्वाद ग्रहण गर्दा उनीहरूका लागि दसैँको अनुभव थप विशेष बनेको थियो ।
होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठले विगत पाँच वर्षदेखि विदेशी पर्यटकसँग नेपाली संस्कृति र परम्परा साटासाट गर्दै आएको बताइन् । दसैँका दिन पनि पर्यटकको सेवाका लागि होटल खुला राखिएको उनले जानकारी दिइन् ।
सौराहाका विभिन्न होटलमा अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सलगायत देशका ३५ जनाभन्दा बढी पर्यटकले दसैँको टीका र जमरा लगाएका थिए ।
नेपालका विभिन्न स्थान घुम्दै सौराहा आइपुगेका विदेशी पर्यटक नेपाली संस्कृतिको प्रत्यक्ष अनुभव गर्न पाउँदा खुसी देखिन्थे । अमेरिकाबाट आएका डविटले नेपालीसँगै दसैँ मनाउन पाउँदा खुसी लागेको बताए । “नेपाली नागरिक आत्मीय र मित्रवत् छन्, नेपाल सुन्दर छ,” उनले भने ।
आयरल्यान्डबाट आएकी सेरिजेन्टले यसअघि नेपाल घुम्न आएका साथीहरूबाट नेपाली परम्परामा रमाएको अनुभव सुनेको बताउँदै यसपटक आफैँ टीका र जमरा लगाएर दसैँ मनाउन पाउँदा खुसी लागेको बताइन् । आयरल्यान्डकै फोरिभले विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष अनुभव गर्न आफू चाडपर्वका बेला यात्रा गर्ने गरेको बताए। अस्ट्रेलियाबाट आएकी जयाले पनि नेपाली संस्कृति नजिकबाट बुझ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।
होटल पार्क साइडका सञ्चालक शिरलाल परियारले विदेशी पर्यटकसँगै दसैँ मनाउने परम्परालाई निरन्तरता दिनु पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताए। यस्ता गतिविधिले पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग नजिक बनाउने उनको भनाइ छ ।
चितवनको सौराहामा पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । यहाँ आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु, प्राकृतिक सुन्दरता र साहसिक पर्यटनले मात्र नभई नेपाली चाडपर्व तथा सांस्कृतिक परम्पराले समेत आकर्षित गर्ने गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार सौराहा आउने पर्यटकमध्ये तेस्रो मुलुकका पर्यटकको हिस्सा करिब २५ प्रतिशत छ । नेपाली र विदेशीबीच संस्कृति तथा परम्पराको आदानप्रदानले सौराहाको पर्यटनलाई थप विविध र आकर्षक बनाउन सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।


