वैदेशिक रोजगारीबाट आएको रकम मधेसमा कहाँ गरिन्छ खर्च ?

एटुजेड समाचार

काठमाडौँ –  सप्तरी, राजविराजका रामकिसुन देव पाँच वर्षपछि गत वर्ष साउदीबाट फर्के । पाँच वर्ष वैदेशिक रोजगारीमा रहे पनि उनको हातमा अहिले केही छैन । उनी अहिले घर बनाउने मजदुरी काम गरिरहेका छन् । फेरि विदेश जाने तयारीमा रहेका उनी ऋण खोज्दैछन् ।

इरान–इजराइल द्वन्द्वका कारण कम्पनी बन्द भएपछि सिरहा, औरहीका रामनारायण यादव तीन वर्षपछि हालै साउदीबाट फर्केका छन् । उनी साउदीबाट काठमाडौँ हुँदै घर पुग्दासम्म उनको हातमा २५ हजार रुपैयाँमात्र थियो । गाउँ जानुअघि काठमाडौँमै रहँदा उनले फेरि विदेश जाने तयारी पनि थालिसके । सोही क्रममा उनले एक जना एजेन्टलाई आफ्नो पासपोर्ट दिइसकेका छन् । विदेश जान उनले फेरि ऋण खोज्नुपर्ने अवस्था छ ।

सर्लाही, बरहथवाका सन्तोष रायको अवस्था पनि त्यस्तै छ । उनी तीन वर्षपछि गत वर्ष मलेसियाबाट फर्के । विदेशमा तीन वर्षसम्म काम गर्दा पनि उनले पैसा जोगाउन सकेनन् । विदेशको कमाइले घर खर्च चलाउनै ठिक्क भयो । घरखर्चकै जोहो गर्न उनी यतिखेर दिल्लीमा मजदुरी गरिरहेका छन् ।

तराई मधेसका यी प्रतिनिधि पात्र हुन् । वैदेशिक रोजगारीमा मधेसका ठुलो संख्यामा युवा विभिन्न मुलुक जान्छन् । नेपाल राष्ट्र बैंकको अर्धवार्षिक अध्ययन २०८०/०८१ अनुसार राष्ट्रियस्तरमा श्रम स्वीकृति लिने कुल संख्याको लगभग २२.५६ प्रतिशत हिस्सा मधेस प्रदेशको छ, तर वैदेशिक रोजगारीमा कमाएको पैसा (विप्रेषण)को सदुपयोग भएको देखिँदैछ ।

वैदेशिक रोजगारीमा जान अधिकांशले ऋण लिएका हुन्छन् । एकडेढ वर्ष त ऋण तिर्दैमा बित्छ । बाँकी रहेको एकदुई वर्ष कमाएको पैसा घर खर्चमै सकिन्छ ।

धेरै आम्दानी गर्नेले पक्की घरसम्म बनाउँछन् । नभए छोराछोरीलाई पढाउने र घरखर्चमै सबै रकम सकिन्छ ।

सिरहा, औरहीका समाजसेवी श्रीदेव यादव भन्छन्, ‘तराई मधेसको यस्तो अवस्था छ कि वैदेशिक रोजगारीमा हुँदासम्म उसको घर चल्छ, विदेशबाट फर्केपछि फेरि उही हालत हुन्छ । यसको मुख्य कारण कमाएको रकमलाई व्यवस्थापन गर्न नसक्नु हो ।’

कसैले धेरै कमाएर रकम बचत गरेको छ भने उसले सुरुमा घर बनाउँछ । त्यसबाट केही रकम बाँकी छ भने जग्गा जमिन खरिद गर्ने गर्छन् । त्यसपछि उसको दिनचर्या मजदुरी गरेर खानेमै सीमित हुने यादवको भनाइ छ । ‘पक्की घर त हुन्छ, चोकमा घडेरी हुन्छ, तर घरमा खानेकुरा हुँदैन । छोराछोरीलाई पठाउने, औषधिमुलो गराउने अवस्था रहँदैन,’ उनले भने, ‘यदि कमाएर ल्याएको रकमले कुनै व्यापार वा अरु कुनै व्यवसायमा लगानी गरेको खण्डमा  त्यसले उनीहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्थ्यो । त्यतातिर ध्यान दिँदैनन् ।’

मधेसमा वैदेशिक रोजगारीबाट कमाएको पैसा दीर्घकालीन सोचका साथ प्रयोग भएको पाइँदैन । अर्थात कमाएको रकममध्ये उपभोगवस्तु, ऋण भुक्तानी, घर, जग्गा र शिक्षा, स्वास्थ्यमा लगभग ९० देखि ९५ प्रतिशत खर्च हुन्छ भने उत्पादनमूलक लगानी ५ प्रतिशतभन्दा पनि कम छ ।

  • शिक्षाको कमी

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं अर्थविज्ञ उमाशंकर प्रसादले मधेसमा चेतनाको अभावको कारणले यो अवस्था सिर्जना भएको बताए । उनले भने, ‘मधेसमा यथास्थितिमा रमाउने जमातको सङ्ख्या ठुलो छ । वर्तमानमा जे छ, त्यसैमा रमाउने, पछि के हुन्छ देखा जाएगा भन्ने सोचका साथ अघि बढिरहेका हुन्छन् ।’

वैदेशिक रोजगारीमा कमाएर पैसा घर पठाइरहेका हुन्छन्, तर त्यसलाई बचत गर्ने, केही कुरामा लगानी गर्ने सोच प्रायःमा नदेखिएको उनले बताए । आएको रकम अनावश्यक कुरामा खर्च गर्ने प्रवृत्तिले पछि ‘हात लाग्यो शून्य’ हुने गरेको उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु