सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेकोमा सरोकारवालाको चिन्ता

एटुजेड समाचार

चितवन – अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ चितवन र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा मंगलबार भरतपुरमा सम्पन्न अभिव्यक्ति स्वतन्त्रताको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले आफ्नो अभिव्यक्तिले अरूको मानमर्दन हुन सक्ने विषयमा ख्याल गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष लाग्नुपर्ने धारणा राख्नुभयो ।

“अभिव्यक्ति स्वतन्त्रताकै विषयलाई लिएर सधैँ महासंघ र सरकारबीच मतभेद हुने गरेको छ,” आचार्यले भन्नुभयो, “सरकारी निकाय र महासंघ मिलेर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्छ ।”

झुटा समाचार नियन्त्रणका लागि नेपाल प्रेस काउन्सिललाई सक्रिय बनाएर महासंघले समेत सहयोग गर्दै नियमन गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले पत्रकारहरूलाई पत्रकार आचारसंहिताभित्र रहेर काम गर्न पनि सुझाव दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका विषयविज्ञ प्रा. डा. घमराज लुइँटेलले नागरिक, अधिकारकर्मी, अभियन्ता, विषयविज्ञ, पत्रकार तथा सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र प्रहरीलगायत सबै पक्षले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा थारू पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीले कुनै नेताका विषयमा जायज टिप्पणी गर्दा समेत आफूहरूविरुद्ध सामाजिक सञ्जालमा आक्रामक प्रतिक्रिया दिने क्रम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “बोल्न र लेख्न डराउनुपर्ने अवस्था आयो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने काम भइरहेको छ ।”

नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकै सिक्काका दुई पाटा भएको बताउनुभयो । पत्रकार प्रतिमा सिलवालले समाचार लेख्दा डराउनुपर्ने अवस्था रहेको बताउनुभयो । अर्की पत्रकार सरिता पौडेलले गोपनीयता र संवेदनशीलतालाई ख्याल नगरी सामाजिक सञ्जालमा जथाभाबी अभिव्यक्ति दिन नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष फूलमाया रानाभाट, बहिरा संघ चितवनकी सदस्य दीपा अधिकारी, मानव अधिकार सञ्जाल चितवनका संयोजक दीपक लामिछानेलगायतले मन्तव्य राख्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु